मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सन्राइज बैंक लिमिटेड बीच आज एक सहमतीपत्रमा हस्ताक्षर भएको छ ।
महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतीपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले एक कार्यक्रम बीच महासंघ सचिवालयमा हस्ताक्षर गर्नुभयो ।
महासंघ र सन्राइज बैंक बीचको सहमती अनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाईदा, कर्जासंग सम्बन्धित जानकारीमुलक कार्यक्रमका साथै विशेषत महिलाहरूको उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकार्यबाट महिला उद्यमशिलता विकासमा थप सहयोग पुग्नुका साथै यस्ता अभिमुखिकरण कार्यक्रमको माध्यमबाट महासंघसंग आवद्ध संघ/संस्थाका उद्यमीहरू माझ बैंकिङ पहुच पुग्ने विश्वास लिइएको छ । अभिमुखिकरण कार्यक्रममा आयात तथा निर्यात व्यापारको वस्तुस्थितिका साथै सो वापत प्राप्त हुने अनुदान बारेेमा पनि जानकारी गराईने छ ।
सहमतीपक्र हस्ताक्षर कार्यत्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष राणाले सनराइज बैंक र महासंघ बीचको सहकार्य महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्ने कार्यमा कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । आर्थिक रूपमा महिला शसक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै अध्यक्ष राणाले महासंघ र बैंक बीचको यो सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास प्रकट गर्नुभयो ।